मोहन वैद्य र धर्मेन्द्र बास्तोला एकै पार्टीमा, मसालसँग समेत एकताको प्रयास

काठमाडौँ : मोहन वैद्य किरण र नेत्र विक्रम चन्दको नेकपा छाडेका धर्मेन्द्र बास्तोला एकै पार्टीमा आएका छन्। शुक्रवार किरणको नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादी र बास्तोलाको नेतृत्वमा रहेको नेकपा (बहुमत) पार्टीबिच एकता भएको हो।
दुवै पार्टीका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको जानकारी दिएका थिए। दुवै पार्टीबिच एकताका लागि वार्ता टोली गठन भएको थियो।
टोलीले गत साउनमै पार्टी एकताको सहमति गरे पनि सार्वजनिक गरेका थिएनन्। उनीहरूले शुक्रवार इच्छुक स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको औपचारिक जानकारी गराए।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव किरण नेकपा बहुमतका संयोजक बास्तोला दुवै सहभागी थिए। उनीहरूले आफ्नो एकतामा नेकपा मसाललाई समेत सहभागी गराउन छलफल भइरहेको जानकारी गराएका थिए।
माओवादी छाड्दा किरण, बास्तोला र चन्द एकै पार्टीमा थिए। चन्दले किरणप्रति असहमति जनाउँदै नेकपा गठन गरेपछि बास्तोला उतै गए। पछि चन्द केपी ओलीको प्रधानमन्त्रीकालमा हिंसात्मक राजनीतिक छाडेर शान्तिपूर्ण राजनीतिमा आए। बास्तोलाले चन्दको नीतिमा असहमति जनाउँदै नेकपा बहुमत बनाएका थिए।
चैत २४, २०७९ शुक्रबार १४:१३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।