अर्थमन्त्रीले भेटे मुद्रा कोष र वित्त निगमका प्रतिनिधि

काठमाडौँ : नेपालको वित्तीय अवस्था खस्कँदै गएको बेलामा अर्थमन्त्री डा. प्रकाश शरण महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अन्तर्राष्ट्रिय वित्त निगमका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्।
वित्तीय सङ्कट समाधान गर्न सरकार विकल्पको खोजीमा सक्रिय रहेको बेलामा भएको भेटवार्ता अर्थपूर्ण देखिन्छ।
महतले बिहीबार आइएमएफका नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज र विश्व बैङ्क मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेसँग भेटवार्ता गरेका हुन्।
अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्रको अवस्था र सहयोगबारे छलफल भएको जनाइएको छ।
भेटमा अर्थमन्त्री डा. महतले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएमएफ र आइएफसीसँगको सहकार्य विगतदेखि नै हुँदै आएको र आगामी दिनमा अझ सशक्त ढङ्गले अघि बढ्न सक्ने विश्वास व्यक्त गरेको बताइएको छ।
आईएमएफ र आइएफसीका प्रतिनिधिले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।
चैत २३, २०७९ बिहीबार २१:२३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।