उद्योगी र व्यवसायीलाई राहत : करको जरिवाना मिनाहा, बक्यौता कर किस्ताबन्दी तिर्ने सुविधा

काठमाडौँ : सरकारले उद्योग व्यवसायका लागि करमा लाग्ने जरिवाना छुट गर्ने घोषणा गरेको छ। न्यूनतम साझा कार्यक्रममा यस्तो घोषणा आएको हो।
सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी थिइन्।
कार्यक्रममा विगतदेखि कर चुक्ता गर्न नसकेका उद्योग, व्यवसायलाई करमा लगाइएको जरिवाना मिनाहा गरी बाँकी बक्यौता कर किस्ताबन्दीमा तिर्ने सुविधा उपलब्ध गराइने उल्लेख छ।
कार्यक्रममा आर्थिक सुशासनका लागी कर छली, आयातमा न्यून बिजकीकरण, चोरी पैठारी, तस्करी तथा हुन्डी कारोबारजस्ता गतिविधिको अन्त्य गर्ने उल्लेख छ।
कार्यक्रममा राजस्वको दायरा बढाउन अनौपचारिक आर्थिक गतिविधिलाई औपचारिक क्षेत्रमा ल्याउने, सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनलाई करको दायरामा ल्याउने उल्लेख छ।
बजेट प्रणालीलाई नीतिगत, संरचनागत तथा कार्यगत रूपमा पुनर्संरचना गरिने कार्यक्रममा उल्लेख छ।
न्यूनतम कार्यक्रममा अर्थतन्त्रमा देखा परेको मन्दी, औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, लगानी जोखिम, वित्तीय क्षेत्रको तरलता सङ्कुचन, उच्च ब्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन तथा पुँजी बजारमा आएको गिरावटलगायतका समस्यालाई आर्थिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाइने उल्लेख छ।
चैत २३, २०७९ बिहीबार १९:५०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।