‘लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन’मा सेनाका भाट प्रथम

‘लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन’मा सेनाका भाट प्रथम

बुटवल : लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन प्रतियोगितामा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन्।

प्रदेश खेलकूद परिषद्, लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो।

‘अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकूद’ भन्ने नाराका साथ खेलकूद दिवसको अवसरमा भएको प्रतियोगितामा भाटले तिलौराकोट–लुम्बिनीका दूरी २ घण्टा ४० मिनेट ५७ सेकेण्डमा पार गरेका हुन्।

प्रतियोगितामा नेपाल प्रहरीका करण खड्का दोश्रो भए। उनले २ घण्टा ४२ मिनेट ०१ सेकेण्ड मा दूरी पार गरे भने २ घण्टा ४४ मिनेट २५ सेकेण्डमा दूरी पार गर्दै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भए।

ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित प्रतियोगिता गरिएको हो।

प्रतियोगितामा २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो।

म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार विहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ति दीप रहेको गेटअगाडि पूरा भएको थियो।

प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको श्रेष्ठले बताए। यो वर्षको प्रतियोगिता समापनसँगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिनेछ।

म्याराथनमा प्रथम हुनेले १ लाख, द्वितीयले ५० हजार र तृतीयले २५ हजार नगद राशी प्राप्त गरेको लुम्बिनी खेलकूद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए।

त्यसैगरी ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’मा दीपक अधिकारी र राजपुरा पछाइ भए।

प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घन्टा ६ मिनट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पुरा गरेर १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जिते।

यस्तै महिलातर्फ २१ किलोमिटरको दूरी नेपाल प्रहरीकी पण्छाइले १ घण्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेर १ लाख ५१ हजार रूपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र पाइन्।

प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय हुँदा आर्मीकै मुकेश पाल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तृतीय भए।

महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय हुँदा प्रहरीकै रेखा विष्ट १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तृतीय भइन्।

दुवै विधामा द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ पाए।

चैत २३, २०७९ बिहीबार १७:५४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।