प्रतिस्पर्धी भट्टराई राष्ट्रिय सभामा जाने भन्दै चुनाव प्रचारमा भ्रम फैलाउँदै स्वर्णिम

काठमाडौँ : तनहुँ-१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका अर्थविद् स्वर्णिम वाग्लेले घरदैलोको क्रममा प्रतिस्पर्धी उम्मेदवार गोविन्द भट्टराई राष्ट्रिय सभामा जाने भन्दै झुटो बोलेको भिडियो सार्वजनिक भएको छ।
स्थान नखुलेको भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार
वाग्ले र एक मतदाताबिच भएको संवाद बाहिरिएको छ जसमा भट्टराईमाथि अन्याय नहुने र उनी राष्ट्रिय सभामा जाने उनले दाबी गरिरहेका छन्।
एक किराना पसलमा रहेका मतदाता राजेश कार्कीले आफू वाग्लेको इन्टरभ्यु हेर्ने गरेको र उनको प्रशंसक भए पनि यस पटक धन्यवाद मात्र दिन सक्ने भन्दै तनहुँमा भट्टराईको लगानी धेरै रहेको बताउँछन्।
प्रतिउत्तरमा वाग्लेले विवेक प्रयोग गर्न आग्रह गर्दै भट्टराई राष्ट्रिय सभामा जाने ग्यारेन्टी नै गर्छु भन्छन्। उनले रामचन्द्र पौडेल उता( राष्ट्रपति) जाँदै गर्दा भट्टराईलाई राष्ट्रिय सभामा लेैजाने कुरा भएको दाबी गर्छन्।
उनले पटक-पटक गोविन्द भट्टराईलाई न्याय हुने र राष्ट्रिय सभा लैजाने सहमति भइसकेको दाबी गर्छन्। उनले कहिले आफूले ग्यारेन्टी गर्ने त कहिले आश्वस्त पार्छु भन्दै मतदातालाई विश्वस्त बनाउन खोजे पनि पार्टी नेतृत्वसँग असन्तुष्टि रहे पनि भट्टराईले तनहुँमा गरेको लगानीका कारण वाग्लेलाई शुभकामना मात्र दिन सक्ने बताउँछन्। उनी ठिक छ ठिक छ विवेक प्रयोग गर्नुस् भन्दै बिदा हुन्छन्।
तनहुँ-१ मा रास्वपाबाट वाग्ले, काङ्ग्रेसबाट भट्टराई र एमालेबाट सर्वेन्द्र खनाल लगायतका उम्मेदवार बनेका छन्।
चैत २३, २०७९ बिहीबार १६:०५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।