अन्जन श्रेष्ठ टिमको वाचापत्र : निजी क्षेत्रलाई जीवन्त, जिम्मेवार र जोसिलो बनाउने

काठमाडौं : चैत २९ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका अन्जन श्रेष्ठसहितको टिमले आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ।
वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले बुधबार घोषणासभा मार्फत आफ्नो टिमको वाचापत्र सार्वजनिक गरेको हो।
वाचापत्र सार्वजनिक गर्दै जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको श्रेष्ठले बताए। उनले स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने उल्लेख गरे।
नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए।
महासंघलाई नयाँ उचाइमा पुर्याउन र संस्थाको व्यावसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे। आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे।
चैत २३, २०७९ बिहीबार १२:२२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।