रियलसँग घरेलु मैदानमा बार्सिलोनाको लज्जास्पद हार, बेन्जेमाले गरे ह्याट्रिक

एजेन्सी : करिम बेन्जेमाले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले ‘एल क्लासिको’ म्याचमा बार्सिलोनालाई ४-० गोल अन्तरले पराजित गरेको छ।
कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगको यो जितसँगै समग्रमा ४-१ को नतिजा निकाल्दै रियल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। सेमिफाइनलको पहिलो लेगमा भने बार्सिलोनाले रियललाई १-० ले हराएको थियो।
गए राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा अग्रता भने रियलले पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसको गोलमार्फत लिएको थियो।
यसपछि दोस्रो हाफमा बेन्जेमाले लगातार तीन गोल गरे। उनले खेलको ५० औं, ५८औं र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे भने रियललाई सानदार जित दिलाए।
अब उपाधिका लागि रियलले फाइनलमा ओसासुन्नासँग भिडन्त गर्नेछ।
चैत २३, २०७९ बिहीबार ०७:३९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।