उपनिर्वाचनमा उम्मेदवार खर्च सीमा : तनहुँमा ३१ लाख, बारा र चितवनमा २९ लाख

उपनिर्वाचनमा उम्मेदवार खर्च सीमा : तनहुँमा ३१ लाख, बारा र चितवनमा  २९ लाख

काठमाडौं: निर्वाचन आयोगले  वैशाख १० को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ।

बुधबार  बसेको आयोगको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ का लागि २९ लाख र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ का लागि  ३१ लाख खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको हो।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले भनेको छ।

राष्ट्रपति, उपराष्ट्रपति चयन हुँदा तनहुँ र बारामा प्रतिनिधि सभा पद रिक्त भएको थियो भने चितवन-२ मा रवि लामिछानेले निष्क्रिय नागरिकताको आधारमा उम्मेदवारी दिएको भन्दै सांसद पद खारेज भएको थियो।

चैत २२, २०७९ बुधबार १६:०४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।