गृहमन्त्री श्रेष्ठलाई भेट्न पुगे अमेरिकी राजदूत थम्पसन, शान्ति प्रक्रियाको बारेमा छलफल

गृहमन्त्री श्रेष्ठलाई भेट्न पुगे अमेरिकी राजदूत थम्पसन, शान्ति प्रक्रियाको बारेमा छलफल

काठमाडौं: उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ।

भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको बताइएको छ।

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको बताए।

उनले यसका लागि नेपालले हितैषी अन्तराष्ट्रिय निकायबाट सहयोगको अपेक्षा गरेको समेत उल्लेख गरे।

संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धी विधेयक संसदमा पेस भइसकेको समेत उनले जानकारी गराए।

राजदूत थम्पसनले भने अमेरिकाले नेपालको शान्ति प्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कुटनीतिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताए।

राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकामा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने स्पष्ट पारे।

चैत २२, २०७९ बुधबार १३:२७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।