नेपालसँगै यूएईले एकदिवसीय विश्वकप छनोट खेल्ने, नामिबिया बाहिरियो

नेपालसँगै यूएईले एकदिवसीय विश्वकप छनोट खेल्ने, नामिबिया बाहिरियो

काठमाडौं : जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्नको लागि यूएई पनि छनोट भएको छ।

भारतमा हुने एकदिवसीय विश्वकप २०२३ को अन्तिम छनोट प्रतियोगिता आगामी जुन/जुलाईमा जिम्बाबेमा हुँदैछ। जसका लागि लिग-२ को शीर्ष तीनभित्र पर्दै नेपालले स्थान सुरक्षित गरिसकेको छ।

विश्वकप छनोट खेल्नका लागि हाल नामिबियामा जारी क्वालिफायर प्लेअफबाट अमेरिकासँगै यूएई पनि छनोट भएको छ।

क्वालिफायर प्लेअफमा हिजोसम्मको खेलबाट अमेरिका ५ खेलबाट ८ अंक जोड्दै शीर्षस्थान रह्यो। नामिबियाको सबै ५ खेलबाट ६ अंक भयो भे एक खेल खेल्न बाँकी रहेको यूएईको पनि ६ अंक नै छ।

हेड टु हेडका आधारमा यूएईले नामिबयालाई हराएकाले अन्तिम खेल खेल्नु अगावै यूएईको विश्वकप छनोट यात्रा सुरक्षित भएको हो।

जसले गर्दा यसअघिको दुवै टी-ट्वान्टी विश्वकप खेलेको नामिबिया भने एकदिवसीय विश्वकपको छनोटसम्म पनि पुग्न सकेन। 

एकदिवसीय विश्वकप छनोट खेल्ने १० टिम मध्ये हालसम्म ९ टिमको टुंगो लागेको छ।

विश्वकप छनोटमा नेपालसँगै ओमान, स्कटल्यान्ड, युएई, अमेरिका, नेदरल्यान्ड्स, श्रीलंका, वेस्टइन्डिज र जिम्बावे खेल्ने पक्का भइसकेको छ।

अब एक अन्तिम टिमको रुपमा आयरल्यान्ड वा दक्षिण अफ्रिका मध्यै एक यसमा समावेश हुनेछ।

चैत २२, २०७९ बुधबार १२:४९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।