उद्योग वाणिज्य महासङ्घमा ११८ जनाको उम्मेदवारी, वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावमा वरिष्ठ उपाध्यक्षमा तीन सहित ११८ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी पर्यो।
चैत २९ गते निर्वाचन हुँदैछ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वैधानिक प्रावधान छ। सो अनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुनेछन्।
त्यसपछिको कार्यकालमा नेतृत्व लिन अन्जान श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिए। प्यानल बनाएर उनीहरूले उम्मेदवारी दिएका छन्।
जिल्लानगर, वस्तुगत र एसोसिएटमा गरी ३ उपाध्यक्षको पदका लागि ८ जनाको उम्मेदवारी परेको छ। १–१ जना उपाध्यक्ष चाहिने जिल्लानगर र वस्तुगततर्फ ३/३ जनाले उम्मेदवारी दिए। १ उपाध्यक्ष चुनिने एसोसिएटतर्फ २ जनाको उम्मेदवारी परेको छ।
यसैगरी, १ सदस्यको कोटा रहेको कोसी प्रदेशबाट ३ जना, मध्यबाट २, बागमतीबाट २, गण्डकीबाट २, कर्णालीबाट ३ र सुदूरपश्चिमबाट २ जनाले उम्मेदवारी दिए।
लुम्बिनी प्रदेशबाट १ जनाको उम्मेदवारी परेको छ। १ जनाको कोटा रहेको संस्थापक सदस्यमा २ जनाले उम्मेदवारी दिए। १४ जना निर्वाचन हुने वस्तुगततर्फको केन्द्रीय सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ। १८ जना निर्वाचित हुने जिल्लानगरमा ३२ जनाको उम्मेदवारी परेको छ। १९ जना निर्वाचित हुने एसोसिएटतर्फको केन्द्रीय सदस्य पदका लागि ३० जनाको उम्मेदवारी परेको छ।
समितिका अनुसार द्वीराष्ट्रिय सदस्यतर्फ १ जना निर्वाचित हुनेमा १ जनाको मात्रै उम्मेदवारी परेको छ।
महासङ्घको चुनावले ६४ जना निर्वाचित गर्नेछ भने ७ वटै प्रदेशका अध्यक्ष स्वतः महासङ्घको प्रदेश अध्यक्ष बन्नेछन्। प्रदेश अध्यक्ष निर्वाचित भइसके पनि पद बहाली गरेका छैनन्।
अध्यक्षले ५ जना सदस्य मनोनीत गर्न पाउनेछन् भने वर्तमान अध्यक्ष शेखर गोल्छा निवर्तमान अध्यक्षकारुपमा कार्यसमिति सदस्यमा बस्नेछन्।
चैत २१, २०७९ मंगलबार २१:४५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।