रविको मुद्दा ‘हेर्न नमिल्ने’, भोलिलाई तोकियो पेशी

रविको मुद्दा ‘हेर्न नमिल्ने’, भोलिलाई तोकियो पेशी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार तोकिएको पेशी ‘हेर्न नमिल्ने’ भएको छ।

न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले उकेरालाई जानकारी दिए।

‘आजलाई हेर्न नमिल्ने भयो,’ प्रवक्ता पौडेलले उकेरासँग भने, ‘भोलिका लागि पेशी तोकिएको छ।’

लामिछानेमाथिको राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अधिवक्ता युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए।

सोमबार दर्ता भएको रिटको आज सुनुवाइको लागि पेशी तोकिएको थियो। रविको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुनिल पोखरेल पनि पुगेका थिए।

चैत २१, २०७९ मंगलबार १६:५८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।