मध्यरात अर्थ मन्त्रालय गएर करको दर हेरफेर गरेको आरोपी घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

मध्यरात अर्थ मन्त्रालय गएर करको दर हेरफेर गरेको आरोपी घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अर्थ मन्त्रालयमै गएर बजेटको करका दरमा हेरफेर गराएको आरोप लागेका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २ करोड १४ लाख ४६ हजार रूपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

पदमा रहँदा गैर कानुनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा दर्ता गराएको हो। २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका उनले भन्सार विभागमा काम गर्दा गर्दै २०७५ फागुन १ मा राजीनामा दिएका थिए।

गत वर्षको बजेट निर्माणकोक्रममा उनी अर्थ मन्त्रालय गएर बजेटमा रहेको करको दर हेरफेर गरेको प्रकरणमा चर्चामा आएका थिए। यस प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामै दिनु परेको थियो। तर संसदीय विशेष समितिले छानबिन गरेर सफाइ दिएको थियो।

छानबिनमा करको दर हेरफेर गर्न घिमिरे अर्थ मन्त्रालय नै गएको प्रमाण सिसिटिभी फुटेज हटेको मन्त्रालयले दाबी गरेपछि यो प्रकरण थप चर्चित भएको थियो।

अख्तियारको अभियोग पत्रमा उनले सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार रूपैयाँ खर्च गरेको तर सो अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार रूपैयाँ मात्र देखिएको दाबी गरिएको छ।

अख्तियारले आम्दानीभन्दा २ करोड १४ लाख ४६ हजार बढी देखिएको भन्दै त्यति नै बिगो र  जरिवाना तथा गैर कानुनी सम्पत्तिबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत गर्न माग गरेको छ।

अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिवाना असुलका लागि उनकी श्रीमती शारदा गौतमलाई समेत प्रतिवादी बनाइएको छ ।

चैत १९, २०७९ आइतबार १८:३३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।