रवि, रमेश र स्वर्णिम संयुक्त पत्रकार सम्मेलन गर्दै

रवि, रमेश र स्वर्णिम संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौँ : उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले शनिवार संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। चितवन-२ का रवि लामिछाने, तनहुँ-१ का स्वर्णिम वाग्ले अनि बाराका रमेश खरेलले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्।

तीनै उम्मेदवारले शनिवार दिउस रास्वपाको कार्यालयमा पत्रकार सम्मेलन गर्दैछन्।

सर्वोच्च अदालतबाट नागरिकता निष्क्रिय रहेको प्रमाणित भएसँगै रास्वपाका सभापति समेत रहेका रविको सांसद पद गुमेको थियो। उप निर्वाचनमा सो क्षेत्रमा आफै उम्मेदवार बन्दैछन्।

राहदानी दुरुपयोगमा प्रहरी र न्यायिक प्रशासनबाट मुद्दा नचल्ने निर्णय भएपछि रवि उप निर्वाचनमा कस्सिएका हुन्। कांग्रेसले उनको क्षेत्रमा जितनारायण श्रेष्ठलाई टिकट दिएको छ। एमालेले फाइनल गरेको छैन।

मङ्सिर ४ मा चितवन १ बाट उम्मेदवार बन्न चाहेका स्वर्णिमले टिकट पाएनन्। त्यो बेलामा उनलाई रास्वपा र एमालेबाट पनि अफर आएको थियो। तर उनी पार्टीमै बसे।

वाग्ले उप निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्न चाहन्थे। तर टिकट पाएनन् र काँग्रेस छाडेर रास्वपामा गए।  कांग्रेसले सो क्षेत्रमा गोविन्द भट्टराइलाई उम्मेदवार बनाइसकेको छ। एमालेले निर्णय गरेको छैन।

आफ्नै अध्यक्षतामा राष्ट्रिय सुशासन पार्टी खोलेर राजनीतिमा सक्रिय भएका नेपाल प्रहरीका पूर्व डिआइजी खरेल बारा-२ बाट उम्मेदवार बन्न रास्वपामा प्रवेश गरे। मङ्सिर ४ को निर्वाचनमा खरेल काठमाडौँ १ मा उम्मेदवार बनेर पराजित भएका थिए।

बारा-२ मा उपेन्द्र यादव उम्मेदवार बन्दैछन्। उनलाई कांग्रेसले समर्थन गरिसकेको छ। लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उम्मेदवार बन्दैछन्। जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार बन्दैछन्। 

चैत १८, २०७९ शनिबार ०१:५६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।