भीम रावललाई कैलालीमै दोस्रोपटक विष्णु पौडेलको चेतावनी

भीम रावललाई कैलालीमै दोस्रोपटक विष्णु पौडेलको चेतावनी

काठमाडौं : एमाले उपाध्यक्ष विष्णु पौडेलले एमाले नेता भीम रावल नसच्चिए पार्टीले ‘उचित कदम’ चाल्ने बताएका छन्।

शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेकाले गल्ती स्वीकार्दै आत्मालोचना नगरे पार्टीले ‘उचित निर्णय’ लिने बताए।

१०औं महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा बाहिर गएको आरोपसमेत लगाए।

‘उहाँ १०औं महाधिवेशनपछि पार्टीको विधि विधान मान्न थाल्नुभएन, केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत गर्दा पनि उहाँले स्वीकार गर्नुभएन’, पौडेलले भने ‘त्यसयता अहिलेसम्म पनि उहाँले पार्टीको नीति र नेतृत्व मान्नु भएको छैन।’

रावललाई अझै पनि पार्टीको गतिविधिमा फर्किन भन्दै पौडेलले पार्टीविरोधी गतिविधि बढाए पार्टीले ‘उचित कदमड चाल्ने चेतावनी दिए।

‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ। कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस्,’ उनले भने, ‘नीति, विधिलाई पालना गर्नुस्। उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’

पौडेलले यसअघि कैलालीमै भएको कार्यक्रममा पनि भीम रावललाई पार्टी नीति र नेतृत्वविपरीतका कार्य नगर्न चेतावनी दिएका थिए।

चैत १७, २०७९ शुक्रबार ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।