पीके क्याम्पसमा समानुपातिक सूचीमा नेविसंघको विवाद, इकाइ अध्यक्ष सगुनमाथि कुटपिट

काठमाडौं : पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघकी इकाइ अध्यक्ष सगुन कँडेलमाथि कुटपिट भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समानुपातिक सूचीका लागि नेविसंघमा विवाद भएपछि उनी कुटिएकी हुन्।
उपचारको लागि अस्पतालमा रहेकी कँडेलका अनुसार चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समानुपातिक सूचीको नाम बुझाउने दिनमा हिजो नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले सूची पठायो।
केन्द्रीय कार्यसमितिको सूचीलाई पूर्व इकाइ अध्यक्ष लक्ष्मी दाहालको समूहले नमान्दै अर्कै सूची बुझाएपछि विवाद उत्कर्षमा पुगेको थियो।
दुवै पक्षबीच भनाभन हुँदा इकाइ अध्यक्ष कँडेललाई पूर्व अध्यक्ष दाहालसहितको टोलीले आक्रमण गरेको उनले बताइन्।
‘हिजो समानुपातिक सूची बुझाउने दिन थियो। हामीहरूबीच सहमति नभएपछि केन्द्रले नाम पठायो। केन्द्रको नामलाई मान्दैनौं भन्दै उहाँहरूको समूहले मलाई कुटेको हो। म अहिले अस्पतालमा छु,’ कँडेलले भनिन्।
उनका अनुसार फागुन २७ गते केन्द्रले ३ महिनाभित्र इकाइ अध्यक्षको चुनाव गराउने गरि कँडेललाई अध्यक्ष तोकेको थियो।
नेविसंघ केन्द्रीय समितिले सभापति पदको उम्मेदवार ज्योती पनेरुलाई बनाएको थियो भने आन्तरिक रुपमा नेविसंघका सबै पक्षबीच स्ववियु उपसभापति कँडेललाई बनाउने सहमती गरि माइन्युट समेत लेखिएको थियो।
तर अहिले दाहाल समूहले चुनाव जित्न सहमति गरेकोमा अब कसरी पीकेको राजनीति अघि बढ्छ भनेर आफूलाई धम्काएको कँडेलेको दाबी छ।
उता पूर्व अध्यक्ष लक्ष्मी दाहालले भने सामान्य भनाभन भए पनि कुटपिट नभएको दाबी गरेकी छन्।
उकेरासँग कुराकानी गर्दै दाहालले भनिन्, ‘समानुपातिक सूची बुझाउँदा विवाद भएको हो। कुटाकुट भएको होइन। म अध्यक्ष हुँदा निर्वाचन समितिमा दर्ता गरेको हुँदा मैले समानुपातिक सूची बुझाएको हुँ। केन्द्रले बनाएको अध्यक्षलाई हामी मान्दैनौं। समानुपातिक सूचीमा रोलक्रममा अगाडि नै रहेका बहिनीहरुको समेत नाम हटाएपछि हामीले कुरा उठाएका हौं।’
नेविसंघ केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले पद्मकन्या क्याम्पसमा विवाद भएपछि समानुपातिक सूची केन्द्रले पठाएको बताए।
‘निर्देशका अनुसार क्यापसमा विवाद भएपछि हामीले पठाउन पाउँछौं समानुपातिक सूची,’ शेर्पाले भने, ‘अहिले पीकेमा नयाँ अध्यक्ष हुनुहुन्छ। पुरानो अध्यक्षले दिएको सूची हुँदैन।’
क्याम्पसमा निवार्चन समीतिका सदस्य सचिव कुल बहादुर रानाले नेविसंघको दुईवटा सूची आएपछि विवाद भएको तर उनीहरुबीच कुटाकुट भएको बारे आफूलाई थाहा नभएको बताए।’
चैत १३, २०७९ सोमबार ०९:३३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।