सरकारमा जान कांग्रेसले माग्यो अर्थसहित आठ मन्त्रालय, नारायणकाजी गृहमन्त्री बन्ने सम्भावना

सरकारमा जान कांग्रेसले माग्यो अर्थसहित आठ मन्त्रालय, नारायणकाजी गृहमन्त्री बन्ने सम्भावना

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरे पनि सत्ता गठबन्धन दलबीच मन्त्रालयको भागबन्डाको हिसाबकिताब अझै मिलेको छैन।

प्रधानमन्त्री प्रचण्ड र संसदको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने समझदारी गरिसकेको बताइएको छ।

यसका लागि हिजो (शनिबार) प्रचण्डले देउवासँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग पनि छलफल गरेका थिए।

यसअघिको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ गठबन्धनसँगै सरकारमा जानका लागि आठ मन्त्रालयमा दाबी गरेको छ।

हालसम्मको छलफलमा कांग्रेसले अर्थ मन्त्रालयसहित कम्तीमा आठ मन्त्रालय आफूले पाउनु पर्ने माग राखेको बताइएको छ।

गठबन्धनको बैठकका बारेमा शनिबार पदाधिकारीहरूलाई ब्रिफिङ गर्दै उपसभापति पूर्णबहादुर खड्काले अर्थ मन्त्रालयसहित कम्तीमा आठ मन्त्रालयमा आफूहरूको दाबी रहको जानकारी दिएको पार्टीका एक नेताले बताए।

खड्काले यसअघि एमालेले पनि आठ मन्त्रालय लिएर सरकारमा गएकाले संसदको सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसले आठ मन्त्रालय चाहिने अडान राखेको बताएका थिए।

प्रचण्डले भने गठबन्धनका सबै दललाई भाग मिलाउनुपर्ने हुनाले कांग्रेसलाई सात मन्त्रालयमा सहमति जनाउन फकाइरहेका छन्।

हाल १६ मन्त्रालयको जिम्मेवारी लिंदै आएका प्रचण्डले अर्थ मन्त्रालयमा नेपाली कांग्रेसले दाबी गरेपछि गृह मन्त्रालय आफैंसँग राख्न तयारी गरेका छन्।

स्रोतका अनुसार  मन्त्रालय हेरफेर गरेर माओवादीले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्री बनाउने तयारी गरेको छ।

चैत १२, २०७९ आइतबार ०८:३१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।