कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गर्छु : मन्त्री किराँती

कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गर्छु : मन्त्री किराँती

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताएका छन्।

मन्त्री किराँतीले मिस लिम्बू २०७९ को उद्घाटन गर्दै शनिवार काठमाडौंमा यस्तो बताएका हुन्। पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिए।

उनले शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकमा आफूले सरकारलाई कोही प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताए।

मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनका बारेमा आफू गम्भीर रहेको कुरा आफूलाई बताएको पनि मन्त्री किराँतीले स्पष्ट पारे।

उनले भने, ‘भर्खरैमात्रै पहिचानको आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने पदम लिम्बूप्रति श्रद्धाञ्जलि अर्पण गर्छु। हिजो मात्रै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु मन्त्रिपरिषद्को बैठकमा।’

मन्त्री किराँतीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने दाबी गरे। उनले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने बताए।

उनले अबको विकास प्रकृतिको सम्पदा र मानव सम्पदाको समायोजन नै आजको आर्थिक विकास र नेपाली पर्यटन भएको बताए। यसले आर्थिक समृद्धि बनाउनुका साथै देश धनी बनाउने बताए।

चैत ११, २०७९ शनिबार १९:३१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।