कर्णालीका मन्त्रीको सम्पत्ति विवरण : काठमाडौंमा घर–घडेरी, ७५ तोला सुन र १५ सय तोला चाँदी (विवरणसहित)

कर्णालीका मन्त्रीको सम्पत्ति विवरण : काठमाडौंमा घर–घडेरी, ७५ तोला सुन र १५ सय तोला चाँदी (विवरणसहित)

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित ६ मन्त्री र एक राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

मुख्यमन्त्री राजकुमार शर्माले केहीसमय अघि नै सार्वजनिक गरेको सम्पत्ति विवरण ६ मन्त्रीसहित एक राज्यमन्त्रीले भने हालै सार्वजनिक गरेका हुन्। सम्पत्ति विवरण हेर्दा आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह सबैभन्दा धनी मन्त्री देखिएका छन्।

शाहसँग काठमाडौंमा घरजग्गाका साथै ७५ तोला सुन, १५ सय तोला चाँदी र १५ तोला हिरा रहेको छ। यद्यपि ऋण पनि अन्य मन्त्रीको भन्दा बढि नै उनको देखिन्छ।

मुख्यमन्त्री राजकुमार शर्मा
बुझाइएको सम्पत्ति विवरणमा मुख्यमन्त्री शर्माको श्रीमतीको नाममा दाङको लमही नगरपालिका–१ मा ३५७२.९१ वर्गमिटर जग्गा छ। सो जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख गरिएको छ।

यस्तै रुकुमको चौरजहारी नगरपालिका–१४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २१२० वर्गमिटर आफ्नो नाममा जग्गा रहेको उल्लेख गरेका छन्। यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ।

यस्तै मुख्यमन्त्री शर्माले सेवा सुविधाबाट प्राप्त नेपाल बैंक लिमिटेडमा पाँच लाख नगद र अन्दाजी दुई तोला सुन माइतीबाट प्राप्त भएको उल्लेख गरेका थिए।

यस्तै लमही नगरपालिका–१ दाङमा कृषि तथा पशुधनमा अन्दाजी ३ लाख लागतमा ६०० बोट ड्रागन फल खेती गरिरहेको र उक्त खेतीबाट वार्षिक १५ देखि १६ लाखसम्म आम्दानी हुने मुख्यमन्त्री शर्माको सम्पत्ति विवरणमा उल्लेख छ।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री मंगलबहादुर शाही
मन्त्री शाहीसँग आमा र छोरीको नाममा दुई वटा घर छ। मुगुको सौरु गाउँपालिका–५ र श्रीनगरमा दुई वटा घर रहेको शाहीको एउटा पैतृक सम्पत्तिकै रूपमा रहेको छ भने अर्को बकस पत्रबाट प्राप्त भएको उल्लेख गरेका छन्। सोरुमै उनको जग्गाजमिन छ।

चल सम्पत्तिमा उनीसँग सात तोला सुन र १० तोला चाँदी छ। उक्त सम्पत्ति शिक्षक हुँदा तलब, केही पैतृक सम्पत्ति र केही व्यवसायबाट जाडेको उल्लेख गरेका छन्। बैंकमा ३० हजार मौज्दात रहेको उनको १६ लाख ७० हजार ऋण छ।

यस्तै छोरीको नाममा एक स्कुटर, ५ वटा गाई गोरु, एउटा मोबाइल, एक क्यामेरा र ल्यापटप पनि रहेको उल्लेख गरेका छन्। उक्त सामान छोरीको तलब र व्यक्तिगत व्यवसायबाट जोडेका उल्लेख गरिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी
मन्त्री जिसीले आफूसँग घर नभएको र श्रीमतीको नाममा वीरेन्द्रनगरको लाटीकोइली, जर्वुटामा तीन वटा घडेरी रहेको उल्लेख गरेका छन्। एक कट्ठा एक धुरको जग्गा पैतृक सम्पत्ति र चार लाख ऋणबाट जग्गा खरिद गरेको उनले उल्लेख गरेका छन्।

यस्तै जर्वुटामा पारिश्रमिकबाट १२ लाख पर्ने अर्को घडेरी पनि खरिद गरिएको उल्लेख छ। जिसीसँग चल सम्पत्तिको नाममा पाँच तोला सुन, १० तोला चाँदी रहेको छ। सुन बाबुआमाबाट प्राप्त गरेको चाँदी श्रीमतीको माइतीबाट प्राप्त गरेको उल्लेख छ।

मन्त्री जिसीको दुई वटा बैंकमा गरी ६५ हजार रुपैयाँ रकम मौज्दात रहँदा आफू र श्रीमतीको गरी तीन वटा कम्पनीमा चार लाख ३७ हजार बराबरको शेयर लगानी छ।

११ लाख ६९ हजार ऋण लागेको उनको नाममा रहेको एउटा मोटरसाइकल र एउटा स्कुटर बिक्री भइसकेको तर नामसारी नभएको उल्लेख छ।

चिङ्गाड कृषि तथा पशुपालन फर्मका मालिकसमेत रहेका उनले चार लाख ५० हजार बराबरको दैनिक उपभोगमा घरायसी सामान, फर्निचर लगायतका रहेको उल्लेख गरेका छन्।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मा
मन्त्री शर्माको सल्यानको बागचौरमा ४ लाख ५० हजार मूल्य बराबरको पुरानो घर र ३२ रोपनी जग्गा छ। चल सम्पत्तिमा ५ तोला सुन र नगद २० हजार छ। त्यो सबै पारिश्रमिकबाट जोडेको उनले उल्लेख गरेका छन्।

बैंकमा २ लाख ८ हजार रकम हालै प्राप्त पारिश्रमिकबाट बचत रहेको उल्लेख छ। उनले दोलखाको चर्चित खिम्ती जलविद्युत् आयोजनामा पनि लगानी गरेको देखिन्छ।

एक लाख रकम शेयर लगानी रहेको उनको आफ्नै सप्लायर्स पनि रहेको छ। यस्तै १३ लाख मूल्य बराबरको सुर्खेतमा जग्गा पनि छ।

५८ लाख ऋण देखाएका उनले सप्लायर्सबाट वार्षिक तीन लाख आम्दानी गर्ने उल्लेख गरेका छन्।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विश्वकर्मा
मन्त्री विश्वकर्माको डोल्पाको त्रिपुरासुन्दरी–३ मा दुईवटा घर रहेका छन्। एउटा घर १५ लाखमा खरिद गरिएको र एउटा पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ।

यस्तै १२ तोला सुन, १० तोला चाँदी र १० लाल हिरा उनको नाममा छ। व्यवसायबाट प्राप्त गरेको २० लाख बराबरको रकम बैंकमा मौज्दात रहेको उनको एक सहकारीमा ५० हजार शेयर लगानी छ।

दुईवटा बैंकमा चार लाख ऋण रहेको भनिएको उनको सम्पत्ति विवरणमा १०० वटा बाख्रा, २० गाईगोरु र ५ वटा भैंसी छ।

आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह
मन्त्री शाहले श्रीमती लक्ष्मी देवी शाहको नाममा काठमाडौंको बुढानीलकण्ठमा ७५ लाख मूल्य पर्ने दुई तलाको घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उक्त घर ऋण गरेर खरिद गरिएको बताइएको छ।

तर, घरभन्दा बढी मूल्यमा घडेरीसमेत जोडेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। श्रीमतीकै नाममा भक्तपुरको सूर्य विनायक गाउँपालिका–६ मा ४८ लाख मूल्यको घडेरी रहेको उल्लेख गरिएको छ। घडेरी पैतृक सम्पत्तिबाट खरिद गरिएको उल्लेख गरेका छन्।

यस्तै, आठबीस नगरपालिका–४ राकम दैलेखमा १० लाख मूल्य बराबरको १८५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ। उक्त जग्गा पारिश्रमिकबाट खरिद गरिएको उल्लेख गरिएको छ। काँधीकाठ गाउँपालिका– १ मा ५० रोपनी पैतृक जग्गा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

सुनका गहना २५ तोला, गहना नबनाइएको सुन ५० तोला, १५ तोलाको हिराको हार र १५ सय तोला चाँदीका भाँडा रहेको उनले उल्लेख गरेका छन्। यी गरगहना पनि पैतृक सम्पत्ति, छोरा र आफ्नो पारिश्रमिकबाट खरिद गर्नुका साथै हिराको हार छोरीले अस्ट्रेलियाबाट उपहार दिएको उल्लेख गरेका छन्।

यस्तै शाहको नाममा रहेका दुई बैंकमा २० हजार बराबरको रकम मौज्दात छ भने ८६ लाख ऋण पनि रहेको छ। उक्त ऋण मासिक ६५ हजारका दरमा तिर्ने गरेका छन्। उनीसँग १६ लाख मूल्य बराबरको टोप्रा प्राडो गाडी छ। उक्त गाडी उनले २०५४ सालमा सांसद हुँदा नै खरिद गरेको उल्लेख गरेका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल
मन्त्री मल्लले आफूसँग बाँकेको कोहलपुरमा २०५९ सालमै खरिद गरेका दुई वटा घर, चल सम्पत्तिमा १० लाख नगद, पाँच तोला सुन र पाँच तोला नै चाँदी रहेको उल्लेख गरेका छन्।

सुन दुई लाखमा खरिद गरिएको र चाँदी ५० हजारमा खरिद गरिएको सम्पत्ति विवरणमा उल्लेख छ। उनीसँग बैंकमा तीन लाख रकम मौज्दात रहेको छ। त्यसबाहेक उनीसँग ५० हजार बराबरको मोबाइल फोन मात्र छ।

सामाजिक विकास मन्त्री टेकराज पछाई
मन्त्री पछाईको सम्पत्ति विवरणमा जुम्लाको कनका सुन्दरी गाउँपालिका–६ मा एउटा पुरानो घर छ। यस्तै कनका सुन्दरी–६ मा १४ हजार १३२ वर्गमिटरमा फैलिएको जग्गा छ। त्यो उनको पैतृक सम्पत्ति हो।

यस्तै उनले बर्दियाको राजापुर नगरपालिका–२ मा १ बिघा जमिन रहेको उल्लेख गरेका छन्। उक्त जमिन व्यापार गरी खरिद गरेका हुन्। उनीसँग १५ तोला सुन र २० तोला चाँदी छ। यद्यपि प्राप्तिको स्रोत भने खुलाएका छैनन्।

साथै उनी र उनको परिवारको नाममा गरी पाँच वटा बैंकमा सात लाख ५० हजार रकम मौज्दात रहेको छ। उनीसँग ऋण भने छैन। बरु विभिन्न कम्पनीमा १७ लाख ५० हजार बराबरको शेयर लगानी रहेको छ।

पछाई शेयर रहेका मध्ये तीन वटामा संस्थापक नै रहेको उल्लेख गरेका छन्। साथै उनीसँग एउटा मोटरसाइकल रहेको छ।

चैत ११, २०७९ शनिबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।