अफगानिस्तानले निकाल्यो पाकिस्तानविरुद्ध आफ्नो क्रिकेट इतिहासकै पहिलो जित

एजेन्सी : अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक पाकिस्तानलाई हराउँदै नयाँ रेकर्ड कायम गरेको छ।
गए राति भएको तीन म्याचको टी-२० सिरिजको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई ६ विकेटले हरायो।
शारजाहमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९२ रनको कमजोर योगफल बनाएको थियो।
टिमका प्रमुख खेलाडीहरूलाई विश्राम दिइएको खेलमा पाकिस्तानका लागि इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाए।
अफगानिस्तानका लागि भने बलिङमा मुजिबुर रहमान, मोहम्मद नाबी र फारुकीले दुई/ दुई विकेट लिए।
जवाफमा ९३ रनको सहज विजय लक्ष्य अफगानिस्तानले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
अफगानिस्तानको जितमा मोहम्मद नाबीले ३८ बलमा ३ चौका र १ छक्कासहित अविजित ३८ रनको योगदान दिएका थिए।
यो जितसँगै अफगानिस्तानले सिरिजमा १-० को अग्रता बनाएको छ। पाकिस्तानविरुद्ध हालसम्म कुनैपनि क्रिकेट खेलमा अफगानिस्तानको यो पहिलो जित हो।
चैत ११, २०७९ शनिबार ०९:१८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।