इटहरी यातायात भ्रष्टाचार मुद्दामा उपसचिवदेखि लेखापालसम्म दोषी, नौ वर्षसम्म कैद, १७ करोडसम्म बिगो भराउने आदेश

इटहरी यातायात भ्रष्टाचार मुद्दामा उपसचिवदेखि लेखापालसम्म दोषी, नौ वर्षसम्म कैद, १७ करोडसम्म बिगो भराउने आदेश

काठमाडौं : विशेष अदालतले राजस्व हिनामिनाको घटनामा यातायात कार्यालय इटहरीका ३ उपसचिवलाई आठ वर्ष कैद सजाय तोकेको छ।

अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले फागुन ३० मा उपसचिव रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन।

बुधवार सजाय निर्धारण गर्दै यी तीनै जनालाई आठ वर्ष कैद सजाय तोकेको हो। कार्यालयका उपसचिव होमनाथ भट्टराईलाई साढे २ वर्ष कैद सजाय तोकिएको छ।

अदालतले उपसचिव दाहाललाई तीन करोड २ लाख बिगो, पौडेललाई दुई मुद्दामा ८ करोड बिगो र नेपाललाई ६ करोड १७ लाख बिगो भराउन समेत आदेश दिएको छ।

राजस्व हिनामिनाको भ्रष्टाचारमा आरोप ठहर भए बिगोको दोब्बर जरिवाना हुने कानुनी व्यवस्था अनुसार अब उनीहरूले त्यसको दोब्बर जरिवाना तिर्नुपर्ने छ।

२०६९ सालदेखि २०७३ सालसम्म यातायात व्यवस्था कार्यालयमा राजस्व चुहावट भएको भन्दै अख्तियारमा परेको उजुरीको अनुसन्धानमा ६१ करोड २१ लाख रुपैयाँ राजस्व खातामा दाखिला नगरी दुरुपयोग भएको भन्दै अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो।

सेवाग्राहीबाट सङ्कलन हुने राजस्व रकम बैङ्कमा नराखी फर्जी कागजातका आधारमा अनियमितता गरेको अख्तियारको आरोप थियो।

कार्यालय परिसरमै राजस्व सङ्कलनका लागि बैङ्कको काउन्टर भए पनि उनीहरूले सेवाग्राहीबाट नगद लिएर फर्जी रसिद दिने गरेका थिए। यसरी सङ्कलित रकम ‘बास्केट फण्ड’ बनाएर बाँड्ने गरेका थिए।

अनुसन्धानमा आर्थिक वर्ष २०७२/७३ मा ८४ करोड १९ लाख रुपैयाँ सङ्कलन भएकोमा ५७ करोड ७० लाख रुपैयाँ दाखिला गरेर २६ करोड ४८ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको थियो।

आर्थिक वर्ष २०७३/७४ को फागुन मसान्तसम्म ८४ करोड ७ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा ५३ करोड २८ लाख रुपैयाँ मात्रै दाखिला गरेर ३० करोड ७९ लाख रुपैयाँ अनियमितता गरेको आरोप पत्रमा उल्लेख थियो ।

अख्तियारको आरोप पत्रमा आर्थिक वर्ष २०७१/७२ मा ६५ करोड ७१ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा ६१ करोड ७७ लाख रुपैयाँ मात्रै बैङ्क दाखिला गरेर ३ करोड ९३ लाख रुपैयाँ अनियमितता गरेको उल्लेख थियो ।

अख्तियारको मागदाबी अनुसार अदालतले भ्रष्टाचारको आरोप लागेका लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद र १४ करोड ७ लाख रुपैयाँ बिगो भराउने आदेश दिएको छ।

अर्का लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद, ५० लाख रुपैयाँ बिगो भराउने आदेश गरेको छ। सुरेश अधिकारीलाई एउटा मुद्दामा ८ र अर्कोमा ९ वर्ष कैद सजाय तोकिएको छ भने दुई वटा मुद्दामा १७ करोड ४ लाख बिगो भराउने आदेश भएको छ।

लेखापालहरू मणिराज दाहाल र टङ्कबहादुर खड्कालाई पनि आठ वर्ष कैद, त्यति नै बिगो र जरिवानाको आदेश भएको छ।

लेखापालहरू देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद, ११ करोड २२ लाख बिगो भराउने आदेश भएको छ। रुद्रप्रसाद दाहाललाई ८ वर्ष कैद, ५ करोड ३२ लाख बिगो भराउने आदेश भएको छ।

चैत ८, २०७९ बुधबार २१:०९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।