नेपालले भारतमा ‘रणजी ट्रफी’ खेल्न पाए चार वर्षमै टेस्ट मान्यता पाउछ : प्रशिक्षक देशाई

नेपालले भारतमा ‘रणजी ट्रफी’ खेल्न पाए चार वर्षमै टेस्ट मान्यता पाउछ : प्रशिक्षक देशाई

काठमाडौं : नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले यदि नेपालले भारतमा ‘रणजी ट्रफी’ जस्ता प्रतियोगिता खेल्न पाएमा आगामी चार वर्षमै टिमले टेस्ट मान्यता पाउन सक्ने बताएका छन्।

क्रिकेट सम्बन्धी अनलाइन ‘क्रिकबज’सँगको कुराकानीमा उनले नेपाललाई भारतले रणजी ट्रफी लगायतका प्रतियोगिता खेल्न अनुमति दिनुपर्ने पनि उल्लेख गरे।

भारतीय प्रशिक्षक देशाईले यसका लागि भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सचिव जय शाहसँग पनि आफूले कुरा गरेको बताए।

उनले भने ‘मैले आईसीसी र जय भाइ (जय शाह, बीसीसीआईका सचिव तथा एसीसीका अध्यक्ष​​​​​​) लाई भनेको छु, जब स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेल्छन् भने हाम्रो टोलीलाई पनि भारतमा खेल्न दिइनुपर्छ।रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ। यदि त्यस्तो भयो भने नेपाल चार वर्षमै टेस्ट खेल्ने राष्ट्र बन्नेछ।’

‘यदि भारतका छिमेकी देशहरूलाई हेर्ने हो भने सबै टेस्ट खेल्ने राष्ट्र बनिसके। अफगानिस्तानले समेत टेस्ट मान्यता पाइसक्यो। नेपाल र अफगानिस्तानले सँगै क्रिकेट खेल्न सुरु गरेका थिए,’ उनले थपे।

चैत ७, २०७९ मंगलबार १३:३१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।