राष्ट्रिय टिममा रहेका प्रदेशका क्रिकेट खेलाडीहरूलाई लुम्बिनीले नगद पुरस्कारले सम्मान गर्ने

बुटवल : लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा रहेका लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई नगद पुरस्कार दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।
जसअनुसार ६ जना सिनियर खेलाडीलाई जनही १ लाख र ५ जना खेलाडीलाई ५० हजार दिने निर्णय भएको बताइएको छ।
विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाली सिनियर टोली विजेता बन्दै विश्वकपको क्वालियरमा छनोट भएकाले प्रदेशका खेलाडीको हौसला र सम्मानका लागि पुरस्कार दिने निर्णय प्रदेश सरकारले गरेको हो।
सिनियर क्रिकेट टिममा रहेका कप्तान रोहित पौडेल नवलपरासी, कुशल मल्ल, कुशल भुर्तेल र मौसम ढकाल रुपन्देही, सोमपाल कामी गुल्मी र प्रतिश जीसी प्युठानका हुन्।
यस्तै जुनियर टिममा रुपन्देहीका देव खनाल, कपिलवस्तुका आकाश त्रिपाठी र दुर्गेश गुप्ता, बर्दियाका विकास केसी र अर्घाखाँचीका उत्तम थापा रहेका छन्।
चैत ७, २०७९ मंगलबार ०८:११:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।