प्रधानमन्त्रीमा प्रचण्डलाई एक सय ७२ सांसदको विश्वास, जोगियो सरकार

प्रधानमन्त्रीमा प्रचण्डलाई एक सय ७२ सांसदको विश्वास, जोगियो सरकार

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा १७२ जना सांसदको विश्वासको मत पाएका छन्। सोमबार प्रतिनिधि सभामा उनको पक्षमा मत देखिएको छ।

२ सय ६२ उपस्थित सांसदमध्ये प्रचण्डलाई बहुमत सांसदहरुले विश्वासको मत दिए। ९९ जनाले विश्वासको मत दिएनन् भने एक जना सांसद तटस्थ बसे।

प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा उभिएको छ भने नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको थियो।

नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी अनि जनमोर्चाले विश्वासको मत दिए। एक सय ३८ सांसदले विश्वासको मत दिएसम्म सरकार सुरक्षित हुनेछ। 

प्रचण्डले विश्वासको मत लिएको दुई महिना १० दिनमै दोस्रो पटक विश्वासको मत पाएका हुन्। यस अगाडि विश्वासको मत लिँदा एमालेसहित सबै ठूला दलले प्रचण्डलाई विश्वासको मत दिँदा दुई तिहाइभन्दा बढि मत पाएका थिए।

संविधानत:  सरकारलाई समर्थन गरेका कुनै दलले समर्थन फिर्ता लिएको एक महिनाभित्रमा प्रधानमन्त्रीले प्रतिनिधि सभाका बहुमत सांसदको विश्वास रहेको प्रमाणित गर्नुपर्ने हुन्छ।

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन सबैभन्दा पहिला राप्रपाले फिर्ता लिएको थियो। त्यसपछि एमालेले विश्वासको मत फिर्ता लिएर सरकारबाट हटेको थियो।

चैत ६, २०७९ सोमबार १७:३७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।