कर्णालीमा स्ववियु निर्वाचन : तीन क्याम्पसमा अनेरास्ववियु र एकमा नेविसंघ विजयी

कर्णालीमा स्ववियु निर्वाचन : तीन क्याम्पसमा अनेरास्ववियु र एकमा नेविसंघ विजयी

सुर्खेत : आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सुर्खेतका तीनवटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।

सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुका घनश्याम रेग्मीको प्यानल विजयी भएको हो।

रेग्मीले प्रतिद्वन्द्वी नेविसंघका खगेन्द्र सापकोटा लाई ८ मतको अन्तरले पराजित गरेका हुन। यस्तै, वीरेन्द्रनगरमा रहेको अमरदीप क्याम्पसमा अनुपम ढकालको पुरै प्यानल विजयी भएको छ।

उता, हिम शिखर बहुमुखी क्याम्पस रामघाट पनि अनेरास्ववियुकी सृजना रसायलीको नेतृत्वमा निर्विरोध रुपमा स्ववियुको नेतृत्व चयन भएको छ।

सुर्खेत बहुमुखी क्याम्पसमा भने मतगणना आज मात्र हुने क्याम्पस प्रमुख माधव खनालले जानकारी दिए।

त्यसैगरी दैलेखको चामुण्डा क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सुनील शाही विजयी भएका छन्।

शाहीले अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका सुन्दर शाहीलाई पराजित गरेका हुन्। सुनीलले १२९ मत प्राप्त गरेका छन्।

सुनीलका प्रतिस्पर्धी सुन्दर शाहीले १२१ मत मात्रै प्राप्त गरेका छन्। यस क्याम्पसमा जम्मा २५६ खसेको थियो।

कर्णालीका अधिकांश क्याम्पसमा मतदान सम्पन्न भएको थियो। कालिकोटको जनचेतना बहुमुखी क्याम्पसमा भने झडप भएको थियो।

त्यहाँ भोटिङ हुँदै गर्दा भएको सामान्य विवादमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा नेकपा एमाले निकट अनेरास्ववियुका दुई जना विद्यार्थी नेताको टाउको चोट लागेको छ।

नारायण क्याम्पस दैलेखमा भने चुनाव हुन सकेन। त्यहाँ विवादका कारण मतदान हुन नसकेको हो। 

वीरेन्द्रनगरस्थित सुर्खेत बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीका हिक्मत शाही र एमाले निकट अनेरास्ववियुका अक्कलबहादुर सिजापतिबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

शाहीलाई नेविसंघले साथ दिएको छ भने सिजापतिलाई अनेरास्ववियु एसले साथ दिएको छ।

सुर्खेतकै विद्यापुर जनता बहुमुखी क्याम्पसमा ३३६ मत खसेको छ। यहाँ अनेरास्ववियुबाट केशव साउँद र नेविसंघबाट चेतन नेपाली प्रतिस्पर्धामा छन्।

मध्यपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमध्ये (नारायण क्याम्पस दैलेख बाहेक) ९ वटामा चुनाव भएको छ। १० वटामध्ये ३ वटा लुम्बिनी प्रदेशमा पर्छन्।

चैत ६, २०७९ सोमबार ०७:१७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।