प्रतिपक्षको बेञ्च छाडेर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

प्रतिपक्षको बेञ्च छाडेर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ। 

आज (आइतबार) बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल  (प्रचण्ड)लाई विश्वासको मत दिने र प्रचण्ड नेतृत्वकै सरकारमा पनि जाने निर्णय गरेको हो।

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतकाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र कांग्रेस सरकारमा सहभागी हुनेछ।

तर आजै बस्ने प्रतिनिधिसभाको बैठकमा नै प्रतिपक्षको बेञ्च छाडेर कांग्रेस सत्तापक्षको बेन्चमा बस्ने महतले बताए।

‘यो सरकारले संविधानको रक्षा, विकास र समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको हौं,’ उनले भने ‘फेरि एउटा गठबन्धन बनेको छ, त्यसलाई मध्यनजर गरेर कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको हो।’

कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो।

तर राष्ट्रपतिको निर्वाचनका लागि नयाँ गठबन्धन बनेसँगै एमाले सरकारबाट बाहिरीयो भने कांग्रेस सरकारमा सहभागी हुन लागेको हो।

अब सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको बारेमा छलफल हुन बाँकी रहेको उनले बताए। आइतबारको बैठकले सरकारमा पठाउने मन्त्रीको मापदण्ड भने बनाइसकेको महतले जानकारी दिएका छन्।

प्रधानमन्त्री दाहालले सोमबार पुनः विश्वासको मत लिने कार्यक्रम रहेको छ। यसअघि दाहालले गत पुस २६ गते विश्वासको मत लिएका थिए। तर एमालेसँगै अन्य केही दलहरूले समर्थन फिर्ता लिएका थिए।

चैत ५, २०७९ आइतबार १२:१२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।