वेष्टर्न क्रिकेट क्लबले जित्यो रूपन्देही सुपर लिगको उपाधि

वेष्टर्न क्रिकेट क्लबले जित्यो रूपन्देही सुपर लिगको उपाधि

भैरहवा : रुपन्देही सुपर लिगको उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले जितेको छ।

शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ४२ रनको जित निकाल्दै वेष्टर्नले उपाधि उचालेको हो।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा २२.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनको झिनो योगफल बनाएको थियो।

उसका लागि अनिलकुमार साहले २६, अनिल खरेलले २४ र देव खनालले २३ रन बनाए। बलिङमा लुम्बिनीका साहब आलमले ५.३ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए।

प्रतिउत्तरमा ९५ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी भने २०.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५२ रनमै समेटियो। लुम्बिनीका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन्।

लुम्बिनीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्न क्रिकेट क्लबका बिष्णु पाण्डेले ४.१ ओभरमा मात्र १० रन खर्चिंदै सर्वाधिक ५ विकेट लिएका थिए। उनी नै म्यान अफ द फाइनल घोषित भए।

यस्तै, अनिल खरेल र अभिषेक गौतमले समान २/२ विकेट लिए ।

प्रतियोगितामा वेष्टर्नका अनिलकुमार साह म्यान अफ द सिरिज घोषित भए। यस्तै, लुम्बिनीका प्रज्वल थापाले वेष्ट ब्याटर र इकलाख वारिसले बेष्ट बलरको उपाधि जिते।

रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित सुपर लिगको यो २२ औं संस्करण हो। २०५४ सालदेखि संघले नियमित रुपमा सुपर लिग आयोजना गर्दै आएको छ।

चैत ४, २०७९ शनिबार १९:०९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।