सभामुखको प्रेसविराेधी भनाइ तत्काल फिर्ता लिन अनलाइन पत्रकार संघको माग

सभामुखको प्रेसविराेधी भनाइ तत्काल फिर्ता लिन अनलाइन पत्रकार संघको माग

काठमाडौं : अनलाइन पत्रकार संघले सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा रहेको’ भनी दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्नुपर्ने  माग गरेको छ।

शुक्रबार राति विज्ञप्ति निकालेर संघले सभामुखको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै राज्यको नीति निर्माण निकायको प्रमुखबाटै सार्वजनिक रूपमा प्रेस विरोधी अभिव्यक्ति दिनु शोभनीय नरहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता र विश्वसनीयताविरुद्ध दिएको अभिव्यक्तिप्रति सभामुखले क्षमायाचना गर्दै संसदबाट प्रेसमैत्री कानुन निर्माणमा सहजीकरण गर्नका लागि संघ जोडदार माग गर्दछ। अन्यथा, संघ जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुनेछ।’    

संघले अनलाइन मिडियाको स्वच्छतामाथि समेत प्रहार भएको भन्दै यस्ता अभिव्यक्तिले प्रेस कानून र अझ अनलाइन पत्रकारिता सम्बन्धी कानुन निर्माण गर्दा स्वेच्छाचारी ढंगले हुने त होइन ? भन्ने प्रश्न समेत खडा भएको उल्लेख गरेको छ।

आगामी दिनमा पत्रकारितामाथि सार्वजनिक अभिव्यक्ति दिँदा समग्र पत्रकारिताको स्वच्छतामाथि ख्याल गर्न संघले अनुरोध गरेको छ।

चैत ४, २०७९ शनिबार ०८:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।