पत्रकारहरू बिक्रीमा छन्, पीत पत्रकारिता हाबी छ : सभामुख घिमिरे

पत्रकारहरू बिक्रीमा छन्, पीत पत्रकारिता हाबी छ : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे।

‘पत्रकारहरू जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो। अन्यथा नलिनुहोला। यो पत्रकार महासंघ हो। त्यो खालको छैन,’ उनले भने, ‘पीतपत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ। जेजे कारणले भएपनि तिनीहरू प्रभावित छन्। अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू।’

मुलुकमा पीतपत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेले बताए। उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको सुनाए।

सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए। सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि उनले स्मरण गराए।

उनले थपे, ‘त्यसको प्रभाव चाहिँ कुनै न कुनै रुपमा परिरहेको छ। बिग हाउसहरूले प्रभावित पारेको छ। थर्काएर गरेको छ। किनेर गरेको छ। फकाएर गरेको छ। अनेक ढंगबाट गरेको छ। त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ।’

चैत ३, २०७९ शुक्रबार १५:५४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।