सोझै विश्वकप छनोटमा पुगेको नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई, जनही ३ लाख दिने घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।
आईसीसी विश्वकप लिग-२ मा तेस्रो स्थान हात पार्दै सिधै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीले सम्मान स्वरूप यो पुरस्कार दिने बताएका हुन्।
आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रचण्डले नेपाली टिमलाई बधाई समेत दिएका छन्।
हिजो (बिहीबार) भएको सिरिजको अन्तिम खेलमा डकवर्थ लुइस नियमका आधारमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल लिग-२ मा तेश्रो भएको थियो।
यसै आधारमा नेपाल सिधै एकदिवसीय विश्वकपमा छनोटमा पनि पुगेको थियो।
यसअघि पनि काठमाडौंमा नै भएको यसै लिगको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिज क्लिनस्विप गरेपछि प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर खेलाडीहरूलाई जनही २ लाख दिने घोषणा गरेका थिए।
चैत ३, २०७९ शुक्रबार ११:०३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।