उपराष्ट्रपति पदका लागि मतदान सुरु, साँझ ६ बजेसम्ममा नतिजा आइसक्ने

काठमाडौं : उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान सुरु भएको हो।
उपराष्ट्रपति पदका लागि सत्ता गठबन्धनकै दुई उम्मेदवारसँग एमालेकी अष्टलक्ष्मी शाक्यको प्रतिस्पर्धा रहेको छ।
शाक्यसँगै जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव उपराष्ट्रपति लागि उम्मेदवार रहेका छन्।
मतदान बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ। मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु हुने र साँझ ६ बजे भित्र नतिजा आइसक्ने निर्वाचन आयोगले जनाएको छ।
यस निर्वाचनका लागि संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र तय गरिएको छ।
निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्। जसमा संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।
राष्ट्रपतिमा जस्तै उपराष्ट्रपतिका लागि पनि आठ दलीय सत्ता गठबन्धनले सहमति जुटाउने प्रयास गरेको थियो।
तर धेरै प्रयासका बाबजुद पनि सहमति नभएपछि एकातर्फ गठबन्धनबाट जसपाका यादव उम्मेदवार बन्दा जनमत पार्टीले भने लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा ममता झालाई उम्मेदवार बनाएको थियो।
उपराष्ट्रपतिका लागि गठबन्धन दलको बलियो समर्थन रहेकाले यादवको पल्ला भारी देखिन्छ। तर गठबन्धनबाटै दुई उम्मेदवार भएकाले भोट क्रस हुन सक्ने डर पनि छ। जसको फाइदा भने शाक्यलाई पुग्न सक्छ।
चैत ३, २०७९ शुक्रबार १०:४०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।