उपराष्ट्रपति निर्वाचन : सत्ता गठबन्धनकै दुई उम्मेदवारसँग एमालेको प्रतिस्पर्धा

उपराष्ट्रपति निर्वाचन : सत्ता गठबन्धनकै दुई उम्मेदवारसँग एमालेको प्रतिस्पर्धा

काठमाडौं : देशको उपराष्ट्रपति छान्नका लागि आज (शुक्रबार) मतदान हुँदैछ। 

उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनकै दुई उम्मेदवारसँग एमालेकी अष्टलक्ष्मी शाक्यले भिडन्त गर्दैछिन्।

उपराष्ट्रपतिका लागि शाक्यसँगै जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव उम्मेदवार रहेका छन्।

राष्ट्रपतिमा जस्तै उपराष्ट्रपतिका लागि पनि आठ दलीय सत्ता गठबन्धनले सहमति जुटाउने प्रयास गरेको थियो।

तर धेरै प्रयासका बाबजुद पनि सहमति नभएपछि एकातर्फ गठबन्धनबाट जसपाका यादव उम्मेदवार बन्दा जनमत पार्टीले भने लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा ममता झालाई उम्मेदवार बनाएको थियो।

उपराष्ट्रपतिका लागि गठबन्धन दलको बलियो समर्थन रहेकाले यादवको पल्ला भारी देखिन्छ। तर गठबन्धनबाटै दुई उम्मेदवार भएकाले भोट क्रस हुन सक्ने डर पनि छ। जसको फाइदा भने शाक्यलाई पुग्न सक्छ।

यस निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ। मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन्।

मतदान बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ। मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु हुने बताइएको छ।

यस निर्वाचनका लागि संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र तय गरिएको छ।

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्। जसमा संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।

उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको हो।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ।

चैत ३, २०७९ शुक्रबार ०८:०५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।