नेपाल यूएई भिडन्त : खेलको दुई घण्टा अघिदेखी नै टीयू मैदानमा दर्शकको ओइरो

नेपाल यूएई भिडन्त : खेलको दुई घण्टा अघिदेखी नै टीयू मैदानमा दर्शकको ओइरो
तस्बिर : क्यान

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा आज यूएईको सामना गर्दैछ।

यस खेल प्रत्यक्ष हेर्नका लागि खेल सुरु हुने करिब दुई घण्टा अघिदेखी नै टीयू मैदान कीर्तिपुरमा दर्शकको ओइरो लागेको छ।

निर्णायक खेलमा नेपाललाई समर्थन गर्न आज बिहानैदेखी दर्शक मैदानमा पुगेकाले टीयू ​​​​​​परिसरमा घुइँचो बढेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले यस खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको जनाएको छ।

क्यानले आज ठूलो संख्यामा दर्शकहरू क्रिकेट मैदानमा आउने भएकाले सुरक्षित र अनुशासित भएर समर्थन गरिदिन पनि आग्रह गरेको छ।

त्यस्तै क्यानले बालबालिका र वृद्धवृद्धालाई घरबाटै नेपाली क्रिकेटलाई समर्थन गर्न र मैदानमा नआउन सल्लाह दिएको छ।

टीयू मैदानमा हुने यस खेलमा यूएईलाई हराउन सके नेपालले सोझै विश्वकप छनोटमा खेल्न पाउनेछ। यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट आगामी जुन/जुलाईमा जिम्बावेमा हुँदैछ।

सिधै विश्वकप छनोटमा पुग्नुको अर्थ नेपालले दक्षिण अफ्रिका, वेष्ट इण्डिज, श्रीलंका मध्येका टेष्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न पाउनु हो।

तर यसका लागि आजका खेलमा स्पष्ट जित बाहेक नेपालसँग अर्को विकल्प छैन। यदि यो खेल हारेमा नेपालको ठाउँमा  नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ।

चैत २, २०७९ बिहीबार ०८:४३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।