हालान्डको कीर्तिमानी ह्याट्रिकमा सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश

हालान्डको कीर्तिमानी ह्याट्रिकमा सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश

काठमाडौं : फर्वाड एर्लिङ ब्राउट हालान्डको कीर्तिमानी ह्याट्रिकसँगै म्यानचेस्टर सिटी युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अन्तिम १६ को दोस्रो लेगमा प्रिमियर लिग क्लब सिटीले जर्मन बुन्डेस लिगा क्लब आरबी लाइप्जिगलाई ७–० ले हराएर समग्रमा ८–१ को जितसहति अन्तिम आठमा स्थान बनाएको हो।

घरेलु मैदान इतिहादमा सिटीले एकपक्षीय खेल प्रदर्शन गरेको सिटीले २२औँ मिनेटमा हालान्डले टिमलाई अग्रता दिलाएका थिए।

२४औँ मिनेटमा केभिन डि बु्रइनको पासमा हालान्डले दोस्रो गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गरेका थिए। उनको यो सिजनको पाचौँ ह्याट्रिक हो।

४९औँ मिनेटमा इल्केइ गुन्डोगनले टिमका लागि चौथो गोल गरे। हालान्डले ५३औँ मिनेटमा टिमका लागि पाचौँ र व्यक्तिगत चौथो गोल गरे। ५७औँ मिनेटमा हालान्डले अर्को गोल थपे।

अतिरिक्त समयमा रियाद महारेजको पासमा डि ब्रुइनले सातौँ गोल गरे।

गए रातिको खेलसँगै २२ वर्षीय हालान्डले च्याम्पियन्स लिगका सबैभन्दा चाडो ३० गोल गर्ने कीर्तिमान बनाए भने एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको रेकर्डसमेत कायम गरे। यसअघि लियोनल मेस्सी र ब्राजिलियन लुइस एड्रिआनोको नाममा यो कीर्तिमान थियो।

यस्तै अर्को खेलमा पोर्चुगलको पोर्टोविरुद्ध गोलरहित बराबरी खेल्दै इटालियन इन्टर मिलानले क्वाटरफाइनलमा स्थान बनाएको छ। इन्टर समग्रमा १–० को जितसहित अन्तिम ८ प्रवेश गरेको हो। पहिलो लेगमा इन्टरले १–० को जित हात पारेको थियो।

चैत १, २०७९ बुधबार ०७:१६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।