वित्तीय संस्था परिसंघले सरकारसँग सुरक्षा माग्यो
काठमाडौँ : वित्तीय संस्था केन्द्रित आन्दोलन र विरोधका घटना बढेपछि बैँक सञ्चालकहरूको छाता संस्था बैङ्क तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले सरकारसँग बैङ्किङ क्षेत्रको सुरक्षाको माग गरेको छ।
मङ्गलबार परिसंघले विज्ञप्ति निकालेर हेटौंडामा बैङ्कहरू बन्द गराउन संस्थागत धम्की आएको भन्दै घटनाको विरोध गर्दै सरकारसँग सुरक्षा मागेको हो।
विज्ञप्तिमा हेटौंडामा कुमारी बैङ्कको शाखा कार्यालय लगायतमा बैङ्किङ सेवा अवरुद्ध गर्ने, अत्यावस्यक बैङ्किङ सेवा लिइरहेका सेवाग्राहीहरुलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र सम्प्रेषणसहित धम्की दिने जस्ता नियोजित गतिविधि भएको उल्लेख छ।
वार्ता र संवादको माध्यमबाट समाधानको उपाय पहिल्याउन सकिने भन्दै विज्ञप्तिमा सबै मान्यता भुलेर बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने धर्ना, धरपकड र कार्यालय बन्द गर्ने कार्यहरू तत्काल रोक्न माग गरिएको छ।
बैङ्क तथा वित्तीय संस्थाका कार्यालय तथा कर्मचारीहरूमाथि गरिएको धरपकड र जबर्जस्ती तत्काल रोक्न समेत सङ्घले सरोकारवालासँग माग गरेको छ।
फागुन ३०, २०७९ मंगलबार २३:१६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।