ए डिभिजन लिग : फ्रेन्ड्सले पहिलो जित निकाल्दा चर्च ब्वाईजले सङ्कटालाई हराउन सकेन

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल यूथ क्लबलाई पराजित गर्दै फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ। दोस्रो खेलमा नव प्रवेशी चर्च ब्वाइज र सङ्कटा गोल रहित भएर अङ्क बाँडेका छन्।
त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेल यूथ क्लबलाई २–१ गोल अन्तरले हरायो। फ्रेन्ड्सका राफिक एमिनु र प्रकाश बुढाथोकीले एकाएक गोल गरेका थिए। जावलाखेलका फोडे फोफानाले सान्त्वना गोल फर्काए।
प्रतिस्पर्धात्मक बनेको खेलमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। कप्तान प्रकाश बुढाथोकीले प्रहार सशक्त बल रोक्ने क्रममा जावलाखेलका गोलकिपर अनीश देउलाले पन्च गर्दै फालेको रिबाउण्ड बलमा राफिकले गोल गरे।
फ्रेन्ड्सले ४० औँ मिनेटमा अग्रता दोब्बर बनायो। कप्तान प्रकाशले लक्ष्मण रुचालले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाएका थिए।
दोस्रो हाफमा फ्रेन्ड्सले पहिलो हाफको लयलाई निरन्तरता दिन सकेन। जावलाखेल खेलमा फर्किन अनेकौं प्रयास गर्दा ८७ औँ मिनेटमा गोल फर्काउन सफल भयो।
फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जावलाखेलले पेनाल्टीको अवसर पाएको थियो। जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल अन्तर घटाए।
इन्जुरी समयमा जावलाखेलका कप्तान सीमान्त थापा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टिम १० खेलाडीमा समेटियो।
फ्रेन्ड्सका राफिकलाई कुहिनाले हान्दै लडाएपछि रेफ्री विश्वास कार्कीले उनलाई कार्ड देखाएर मैदान बाहिर पठाएका थिए।
पहिलो जित निकालेको फ्रेन्ड्सले ४ खेलमा ४ अङ्क जोडेको छ। जावलाखेलको यो पहिलो हार हो। जावलाखेलले ४ खेलमा ७ अङ्क जोडेको छ।
मङ्गलबार नै एन्फा मुख्यालयको मैदानमा भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाईटेड र सङ्कटा क्लबले गोल रहित बराबरी खेलेर अङ्क बाँडे।
चर्च ब्वाइजमा अञ्जन विष्टको आगमन भएकाले खेल प्रतिस्पर्धात्मक देखिएको थियो। दुवै टोलीले खेल अवधिभर केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।
यसै सिजन बढुवा भएको चर्च ब्वाइजले जारी लिगमा पहिलो बराबरी खेल्यो। यसअघि चर्चले अघिल्लो तीन खेलमा सुखद् नतिजा निकाल्दै शीर्षता कायम राखेको थियो।
चर्च ब्वाइज ४ खेलमा १० अङ्क जोडेर शीर्ष स्थानमा छ भने सङ्कटाले ४ खेलमा ५ अङ्क जोडेको छ ।
बुधबारको पहिलो खेल च्यासल मैदानमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ क्लबबीच हुँदै छ भने दोस्रो खेल दशरथ रङ्गशालामा न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच हुनेछ।
फागुन ३०, २०७९ मंगलबार २१:३८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।