निजामती ऐनबाट सबैलाई न्याय होस् भन्ने मेरो चाहना : मन्त्री मोदी

निजामती ऐनबाट सबैलाई न्याय होस् भन्ने मेरो चाहना : मन्त्री मोदी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।

संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री मोदीले संघीय निजामती ऐनका सन्दर्भमा आफूले सबै पक्षसँग चरणबद्ध छलफल गरेको स्मरण गरे।

उनले भने, ‘ऐनको सन्दर्भमा मैले सबै पक्षसँग छलफल गरिरहेको छु, यो ऐनबाट मुलभूत रूपमा सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ।’

ऐनमा अधिकतम विषयवस्तु समेटिने र ऐन जारी भएपछि विद्यमान समस्याको आधा समाधान निस्किने मन्त्री मोदीको भनाई थियो।

‘सबैका मागलाई एकैपल्ट सम्बोधन गर्न सकिँदैन, सबैका मागलाई अधिकतम सम्बोधन गर्ने हाम्रो कोसिस हुन्छ,’ मन्त्री मोदीले भने, ‘अन्य मागहरू संशोधनमार्फत पूरा गर्न पनि सकिन्छ, यो संशोधन नै हुन नसक्ने ग्रन्थ होइन, अहिले कमसेकम यो ऐन ल्याऔँ।’

मन्त्री मोदीले स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको स्तरवृद्धिको समस्या समाधानका लागि आफूले गर्नुपर्ने सहजीकरण र भूमिका निर्वाह गर्ने समेत उल्लेख गरे।

‘गलत काम गर्ने कर्मचारीलाई निष्कासनसम्मको व्यवस्था गर्छौं’
यसैबीच मन्त्री मोदीले गलत काम गर्ने कर्मचारीलाई निष्कासन सम्मको व्यवस्था गर्ने बताएका छन्। संघीय निजामती ऐनमा कर्मचारीलाई दण्ड र पुरस्कार दुवैको उचित व्यवस्था हुने उनको भनाइ थियो।

अहिले कर्मचारीलाई कारबाही भनेकै दुर्गम क्षेत्रमा सरुवा भन्ने बुझाइ स्थापित रहेकाले त्यसलाई परिष्कृत गरेर गलत गर्ने कर्मचारीलाई निष्कासनसम्म गर्ने व्यवस्था ऐनमा राखिने मन्त्री मोदीको भनाइ छ।

फागुन २९, २०७९ सोमबार २०:२१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।