राष्ट्रपति पौडेलले लिए शपथ, शीतल निवासबाट बिदा भइन् भण्डारी

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथ ग्रहण गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ दिलाए।
शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति लगायतको उपस्थिति रहेको थियो। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।
सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।
साथै नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई पनि बिदाईका क्रममा सलामी दिएको थियो।
पौडेल गत बिहीबार (फागुन २५ गते) राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ।
पौडेलको शपथ ग्रहणसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले भने आज शीतल निवास छाडेकी छन्।
हिजो (आइतबार) नै आफ्नो कार्यकाल सकिएकी भण्डारी शीतल निवासबाट बूढानीलकण्ठ स्थित निजी निवास सरेकी हुन्।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार हिजो उनले आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष नेताहरूसँग भेटघाट गरेकी थिइन्।
भेटघाटमा उनले आफ्नो राष्ट्रपतिको दुई कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन्।
भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। यसपछि उनी २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन्।
फागुन २९, २०७९ सोमबार १४:१९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।