पीएनजीसँग भिड्दै नेपाल, सिधै विश्वकप छनोट खेल्न अब दुई जित बाँकी

पीएनजीसँग भिड्दै नेपाल, सिधै विश्वकप छनोट खेल्न अब दुई जित बाँकी

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिज अन्तर्गतको खेलमा आज पीएनजीको सामना गर्दैछ।

टियु क्रिकेट मैदानमा हुने खेलमा नेपाल सिरिजमा लगातार तेस्रो जितको खोजीमा रहनेछ।

आइतबार यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित निकालेपछि नेपालले एकदिवसीय (ओडीआई) मान्यता अर्को चार वर्षको लागि जोगाइसकेको छ।

अब नेपालको लक्ष्य यस सिरिजका बाँकी दुवै खेल जितेर सोझै विश्वकप छनोटमा पुग्ने हो। यस लिगका शीर्ष तीन टिमले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।

लिग-२ को अंक तालिकामा ३४ खेलबाट १७ जितपछि ३६ अंकसहित नेपाल चौथो स्थानमा उक्लिएको छ। ३५ अंकसहित सबै खेल खेलेको अमेरिका पाँचौ स्थानमा झरेको छ।

यस लिगमा ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। यी दुवै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।

३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। यदि अबका दुवै खेल जितेमा ४० अंकका साथ नामिबियालाई पछि पार्दै नेपाल लिगको शीर्ष तीनभित्र पर्दै सोझै विश्वकपमा छनोट हुनेछ।

फागुन २९, २०७९ सोमबार ०८:३१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।