ए डिभिजन लिगमा बल्ल खाता खुल्यो मच्छिन्द्रको, आर्मीले हराउन सकेन एनआरटीलाई

ए डिभिजन लिगमा बल्ल खाता खुल्यो मच्छिन्द्रको, आर्मीले हराउन सकेन एनआरटीलाई

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबसँग गोलरहित बराबरी खेल्दै शहीद स्मारक ए डिभिजन लिगको साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले पहिलो अङ्क जोडेको छ।

ललितपुरस्थित  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा आइतबार भएको खेलमा मच्छिन्द्रले मनाङलाई जीतबाट रोक्यो।

रोमाञ्चक खेलमा  दुवै टोलीले गोल गर्ने राम्रा अवसर पाए पनि सफल भएन। खेल बराबरीमा टुङ्गिएपछि मनाङले तीन खेलबाट ५ अङ्क पाएको छ।

मछिन्द्रले तेस्रो खेलमा जित निकाल्न नसके पनि हारेन। यस अगाडि उसले जावलाखेल यूथ क्लबसँग ३–१ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–१ ले पराजित भएको थियो।

हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको मनाङले सङ्कटा क्लबलाई १–० ले पराजित गरेको थियो।

आइतबारकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एनआरटी) सँग पनि ३–३ गोलको बराबरी नै खेल्यो।

च्यासल मैदानमा खेलको १५ औँ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। ५२ औँ मिनेटमा लालनुनजामाले एनआरटीलाई १–१ को बराबरीमा ल्याएको खेलमा ५७ औँ मिनेटमा जिन एन्सर एमबोउमीले पेनाल्टीमार्फत गोल गर्दा एनआरटी २–१ ले अघि बढ्यो।

६२ औँ मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३–१ को अवस्थामा पुर्याए पनि ६८ औँ मिनेटमा आर्मीका सुदिल राईले गोल गरेर खेल ३–२ को स्थितिमा ल्याएका थिए।

खेलको ८६ औँ मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीको हारलाई टारे। बराबरी पछि आर्मीको तीन खेलबाट ५ अङ्क भएको छ। एनआरटीको ३ खेलबाट १ अङ्क पाएको छ।

सोमवार च्यासल मैदानमा हिमालयन शेर्पा र खुमलटार यूथ क्लब तथा दशरथ रङ्गशालामा सातदोबाटो यूथ क्लब र थ्री स्टार क्लबबिच प्रतिस्पर्धा हुनेछ।

फागुन २८, २०७९ आइतबार १८:२२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।