संकटमा रहेको देशको अर्थतन्त्र क्रमशः सुधारतर्फ बढीरहेको छ : प्रधानमन्त्री दाहाल

संकटमा रहेको देशको अर्थतन्त्र क्रमशः सुधारतर्फ बढीरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले अर्थतन्त्रको सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको उल्लेख गरे।

उनले भने, ‘हाम्रो छिमेककै केही मुलुकहरूमा नै वैदेशिक मुद्राको घट्दो सञ्चितीबाट आर्थिक रुपले कठिन अवस्था परेको बेला हामीसँग भने १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने वैदेशिक सञ्चिती रहेको छ। यसले हाम्रो अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको कुरा देखाउँछ।’ 

‘बाह्य क्षेत्र सन्तुलनमा राख्नका निम्ति विगतमा कसिलो मौद्रिक नीति जरुरी थियो तर अहिले त्यो संकट टरिसकेको छ। अब आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रको सूचकहरूमा कसरी सुधार ल्याउने भन्ने तर्फ नै सरकारको ध्यान केन्द्रित छ,’ उनले थपे।

उनले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गरे।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने तर्फपनि सरकारको ध्यान रहेको उनले बताए।

फागुन २८, २०७९ आइतबार १३:५९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।