द्वन्द्वकालका घटनाका मुद्दा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत : अग्नि सापकोटा

द्वन्द्वकालका घटनाका मुद्दा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत : अग्नि सापकोटा

काठमाडाैं : माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढाउनुपर्ने बताएका छन्।

शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरूप हुनुपर्ने बताए।

द्वन्द्वकालका घटनाहरूको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएकाे उनकाे भनाइ छ।

‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ,’ उपाध्यक्ष सापकाेटाले भने, ‘विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अगाडि बढ्नुपर्छ। त्यसअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै यस्ता संक्रमणकालिन न्याय सम्बन्धि विषयहरु समाधान गरिनुपर्छ।’

उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धीहरूलाई उल्ट्याउने कोसिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने पनि बताए।

विस्तृत शान्ति सम्झौताको गम्भीरता र राष्ट्रमा त्यसले पार्ने प्रभावका बारेमा चिन्तन गर्दै त्यसै अनुसार समाधान गर्नुपर्ने उनकाे भनाइ छ।

फागुन २७, २०७९ शनिबार १२:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।