आन्तरिक स्रोतबाट सञ्चालित भन्दै ‘जेन्डर स्टडिज‘का विद्यार्थीको खोसियो स्ववियु चुनावमा भोट हाल्ने अधिकार

काठमाडौं : त्रिभुवन विश्वविद्यालय जेन्डर स्टडिजकी विद्यार्थी हुन् मोनालिजा खम्बु। स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने भएपछि उत्साही थिइन् उनी।
जसै त्रिविमा सञ्चालित जेन्डर स्टडिज लगायत विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीले भोट हाल्न समेत नपाउने नियम रहेको थाहा पाइन् उनलाई त्रिविले आफ्नो अधिकार खोसेको महसुस भयो।
‘हामी त त्रिविकै विद्यार्थी हौं, मानविकी संकायका। हामीले भोट हाल्न नपाउने पो रहेछौं। यो त त्रिविले आफ्नै विद्यार्थीलाई विभेद गरेको ठहर भएन र?’
स्ववियु चुनावमा भोट हाल्न नपाउने भएपछि फागुन २५ गते जेन्डर स्टडिजका विद्यार्थीहरूले निर्वाचन अधिकृतलाई सम्वोधन गर्दै मत हाल्न पाउनु पर्ने, उम्मेदवार बन्न पाउनु पर्ने भन्दै निवेदन पनि दिए।
तर निर्वाचन अधिकृतको कार्यालयले त्रिविले मान्यता दिए पनि आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमका विद्यार्थीलाई चैत्र २१ गते नै विद्यार्थी संघ संगठन र निर्वाचन समितिले समावेश नगराउने सहमति गरेको भन्दै मत हाल्ने अधिकार खोसिएको पत्र थमाएको छ।
‘विद्यार्थी संगठन केका लागि हुन्? उनीहरू को हुन्? हाम्रो अधिकार खोस्ने, कि त हामी त्रिविको हैनौं भन्नपर्यो। हैन भने मत हाल्ने अधिकार दिनु पर्छ’ मोनालिजाको भनाइ छ।
यस विषयमा त्रिविका शिक्षाध्यक्ष शिव भुषाललाई उकेराले जिज्ञासा राख्दा उनले भने, ‘जुन जुन क्याम्पसमा विभिन्न प्रोग्रामहरू चलिरहेका छन्। उनीहरूलाई मत हाल्न दिने नदिने अधिकार उनीहरूसँगै छ।’
किन यस्तो विभेद त भन्ने हाम्रो प्रश्नमा भुषालले भने, ‘पहिले प्रोग्राम पढ्ने विद्यार्थीलाई मत हाल्न दिने अधिकार रैन्छ। हामीले नयाँ पनि बनाएनौं। खास त्रिवि अन्तर्गत नै भए पनि उनीहरू निजी स्रोतबाट चलेका हुन्छन् नी त।’
फागुन २६, २०७९ शुक्रबार १८:०१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।