प्रचण्ड विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी

प्रचण्ड विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी

काठमाडौं : प्रधानमन्त्री समेत रहेेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

यस मुद्दामा सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको हो। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार प्रचण्डविरुद्ध रिट दायर गरेको थिए।

बिहीबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको रिट हेर्न नभ्याइएपछि शुक्रबारका लागि पेशी ताेकिएको थियो। आज उक्त रिट न्यायाधीश खतिवडाको इजलासमा परेको थियो।

प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए।

प्रचण्डको यही अभिव्यक्तिविरुद्ध अधिवक्ताद्वय ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले सर्वोच्चमा अलगअलग रिट दायर गरेका थिए। अधिवक्ताद्वयको रिटलाई सर्वोच्च प्रशासनले २०७९ कात्तिक २४ गते दरपिठ गरिदिएको थियो।

दरपिठविरुद्ध अधिवक्ताद्वय आरण र बुढाथोकीले सर्वोच्चको इजलासमा निवेदन दिएका थिए। त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खतिवडा र फुयाँलको इजलासले गएको शुक्रबार सर्वोच्च प्रशासनलाई रिट दर्ता गर्न आदेश दिएको हो।

त्यसपछि मंगलबार आरण र गिरीले प्रचण्डविरूद्ध अनुसन्धान गर्न माग गर्दै छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्।

फागुन २६, २०७९ शुक्रबार १६:५५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।