मध्यपश्चिममा नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल, सभापतिमा चार स्वतन्त्रसहित आठ जनाको दावी

सुर्खेत : राजनीतिको पहिलो खुट्किलो मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिएसँगै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पनि रौनक बढेको छ।
विद्यार्थीको चुनाव भए पनि राजनीतिक दलका नेताहरूले समेत स्ववियु निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको देखिन्छ।
पार्टीका शीर्ष नेताहरूको ‘इन्ट्रेष्ट’मा विद्यार्थी संगठनभित्र उम्मेदवार चयनसमेत भइसकेको छ। नौ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकोमा नेविसंघ र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ।
चैत ३ गते हुने स्ववियु निर्वाचनमा अध्यक्ष र सचिव पदमा तालमेल भएको अखिल क्रान्तिकारीका नेता एवं स्ववियु निर्वाचन परिचालन कमिटीका कर्णाली प्रदेश इन्चार्ज अमरजंग शाहीले जानकारी दिए।
उनका अनुसार केन्द्रको निर्देशनअनुसार विश्वविद्यालयमा बिहीबार दुई संगठनबीच तालमेल गरिएको हो। तालमेलपछि अखिल क्रान्तिकारीले सभापतिको र नेविसंघले सचिवको उम्मेदवारी फिर्ता लिएको छ।
अध्यक्षमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बाट ममता अधिकारी र नेविसंघबाट रोशन बस्नेतले उम्मेदवारी दिएकोमा तालमेलपछि अधिकारीले उम्मेदवारी फिर्ता लिएर बस्नेतलाई समर्थन गरेकी छन्।
अन्य विद्यार्थी संगठनहरू भने एक्ला–एक्लै चुनावी मैदानमा होमिएका छन्। स्ववियुको अध्यक्ष र सचिवमा ८/८ जनाको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा ६ र सदस्यमा ३० जनाको उम्मेदवारी दर्ता भएको छ।
यस्तै अनेरास्ववियुका प्रकाश रिजाल, एकीकृत समाजवादी निकट अनेरास्ववियूका मिलन विसी सभापतिका लागि चुनावी मैदानमा छन्। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको क्रान्तिकारी विद्यार्थी संगठनबाट योगेश कुमार शाही उम्मेदवार छन् भने चार जनाले स्वतन्त्र उम्मेदवार छन्।
स्वतन्त्र उम्मेदवारमा पारस सिंह, भूपेन्द्र बम, महेन्द्रकुमार थापा र महेश धिताल छन् ।
पहिला नै संगठनहरूबीच गठबन्धन गरेर जाने विषयमा छलफल नभएका कारण सबैले आ–आफ्नो संगठनबाट उम्मेदवारी दिए पनि केन्द्रमा भएको पछिल्लो सहमतिअनुसार नेविसंघसँग तालमेल मिलेको हो।
‘पहिला देशको राजनीतिक परिस्थितिअनुसार त्यस्तो केही छलफल हुन पाएन,’ शाहीले भने, ‘बिहीबार मात्रै केन्द्रीय नेतृत्वको सहमतिअनुसार नेविसंघसँग तालमेलको सहमति भयो।’
नेविसंघ र अखिल क्रान्तिकारीले तालमेल गरे पनि आफूहरूले निर्वाचन जित्ने दाबी अन्य संगठनहरूको छ।
४ हजार २९ जना मतदाता रहेको विश्वविद्यालयमा ६ वटा संगठनले समानुपातिक सूचीसमेत पेश गरेको विश्वविद्यालयका निर्वाचन अधिकृत वेदप्रकाश ढकालले जानकारी दिए।
मध्यपश्चिम विश्वविद्यालयमा दोस्रो पटक स्ववियु निर्वाचन हुन लागेको हो।
फागुन २६, २०७९ शुक्रबार ०९:२३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।