माओवादी धारका राजनीतिक दलहरूको बैठक बालुवाटारमा सुरू

माओवादी धारका राजनीतिक दलहरूको बैठक बालुवाटारमा सुरू

काठमाडौं : माओवादी धारका राजनीतिक दलहरूको बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सिपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’, कृष्णबहादुर महरा, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, विश्वभक्त दुलाल ‘आहुति’, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायतका नेताहरू सहभागी छन्।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन्। गत मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो।

उक्त बैठकमा प्रचण्डले माओवादी धारका नेताको साथ खोजेका थिए। सर्वोच्च अदालतको आदेश आफूमा मात्र केन्द्रित नरहेको भन्दै उनले सबै नेता तथा दल एकजुट हुनु पर्ने बताएका थिए। 

द्वन्द्वकालमा ५ हजार मारिएका नागरिकको जिम्मा लिने उत्तेजक भाषण गरेपछि उनीविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ। सोही मुद्दाका कारण माओवादी धारका नेताहरु एकै ठाउमा उभिएका हुन्। 

गत मंगलबार माओवादी धारका आठ दलका नेताहरूसँग छलफलका क्रममा उनले अदालतको आदेश शान्ति प्रक्रियासँग जोडिएको बताउँदै आफूहरू एक भएर जानुपर्ने धारणा राखेका थिए। 

उनले अदालतको आदेश शान्ति प्रक्रिया र माओवादी आन्दोलनसँग जोडिएको विषय भएको भन्दै सामूहिक चासो लिनुपर्नेमा जोड दिएका थिए। आठ दलका नेताले सर्वोच्चको भाषा व्यक्तिगतभन्दा पनि नीतिगत भएको निष्कर्ष निकालेका थिए।

उक्त बैठकमा सहभागी आठ दलका नेताहरूले संक्रमणकालीन न्यायका विषयमा आफूहरू एकजुट हुने प्रतिबद्धता जनाएका थिए। २०७६ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए। 

उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन्।

फागुन २६, २०७९ शुक्रबार ०८:५८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।