राष्ट्रपति निर्वाचनमा फरार कोइरीसहित ५१ जना अनुपस्थित

राष्ट्रपति निर्वाचनमा फरार कोइरीसहित ५१ जना अनुपस्थित

काठमाडौं : राष्ट्रपति निर्वाचनमा हत्या अभियोगमा खोजीमा परेका एमाले सांसद लक्ष्मी महतो कोइरीसहित ५१ जना अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा २ जना विरामी सांसद छन्।

राष्ट्रपति निर्वाचनमा कुल ८८२ मतदाता रहेकोमा ८३१ मत खस्यो। निर्वाचन आयोगका अनुसार संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको थियो। संघीय सांसदतर्फबाट १९ जना र प्रदेशसभातर्फबाट ३२ जना अनुपस्थित भए। 

प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्य छन्। उपचाररत कांग्रेस सांसद डा.चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन उपस्थित हुन सकेनन्।

हत्या अभियोगमा प्रहरीले खोज्न थालेपछि भूमिगत भएका कोइरी यो पटक आएनन्। उनी सांसदको शपथ र प्रधानमन्त्रीको विश्वासको मतमा उपस्थित भएका थिए।

सांसद सहनाजको निधन भइसकेको छ। राप्रपा १४ र नेमकिपाको एक सांसद तटस्थ बसे।

राप्रपाका राजेन्द्र लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा राष्ट्रपति निर्वाचनमा सहभागी भएनन्। 

नेमकिपाका सांसद प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन्। प्रदेशतर्फ ३२ जनामध्ये राप्रपाका २८, नेमकिपाका ३ र जसपाका एक सदस्य निर्वाचन प्रक्रियामा सहभागी भएनन्।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास चन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदा पौडेलले जितेका छन्।

फागुन २५, २०७९ बिहीबार १८:००:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।