रामचन्द्र पौडेल बने नेपालको तेस्रो राष्ट्रपति, पाए ३३ हजार ८०२ मतभार
काठमाडौं : नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति बनेका छन्। पौडेल निर्वाचित भएको आधिकारिक घोषणा हुन भने बाँकी छ।
पूर्वसभामुख तथा एमाले नेता सुवास चन्द्र नेम्वाङलाई पराजित गर्दै रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका हुन्।
राष्ट्रपति निर्वाचनमा रहेको कूल ४९ हजार ५९१ मतभारमा पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरे। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका थिए।
नेम्बाङले भने १५ हजार ५१८ मतभार प्राप्त गरेका हुन्।
आज (बिहीबार) भएको निर्वाचनमा संघीय संसद्तर्फ ३१३ सांसदले मतदान गरेका थिए। जसको मतभार २४ हजार ७२७ रहेको थियो।
त्यसैगरि प्रदेशतर्फ ५१८ सांसदले मतदान गरेका थिए। यसको मतभार भने २४ हजार ८६४ रहेको थियो।
निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको कुल ५२ हजार ६२८ मतभार रहेकोमा निर्वाचनमा सहभागी सांसदहरुको कूल मतभार भने ४९ हजार ५९१ मात्र थियो।
जसमभध्ये राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३१५ मतभारको आवश्यकता थियो।
फागुन २५, २०७९ बिहीबार १७:१६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।