राष्ट्रपति निर्वाचनको मतगणना सुरु, ७ बजेसम्म नतिजा आउने

राष्ट्रपति निर्वाचनको मतगणना सुरु, ७ बजेसम्म नतिजा आउने

काठमाडौं : राष्ट्रपति निर्वाचनको मत गणना कार्य सुरु भएको छ। मतदान सकिएको करिब ४५ मिनेटपछि मत गणना कार्य सुरु भएको हो।

राष्ट्रपतिमा एमालेबाट उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन्।

निर्वाचन आयोगले आज साँझ ७ बजेसम्ममा मतगणना सकेर नतिजा सार्वजनिक गर्ने बताएको छ। बिहान १० बजे सुरु भएको मतदान पौने ३ बजे सकिएको थियो ।  

निर्वाचनमा संघीय संसदतर्फ ३१३ जना र प्रदेशसभातर्फ ५१८ जनाले मतदान गरेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले मतगणना गर्ने विषयमा राष्ट्रपति उमेदवारका प्रतिनिधिहरूसँग बैठक गरेको थियो। मतगणना सम्बन्धी बैठकले मतगणनाका लागि विभिन्न सात निर्णय गरेको थियो।

जसअनुसार दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने र मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुला गर्ने निर्णय भएको छ।

स्वस्तिक छाप नभएको मत बदर हुने र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा भएमा त्यो पनि बदर हुने उल्लेख छ।

त्यसैगरि संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने जनाइएको छ भने मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहने छन्।​​​​​​​

मतगणना पश्चात् विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने पनि बताइएको छ।

फागुन २५, २०७९ बिहीबार १६:०४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।