राष्ट्रपति निर्वाचन : ४ बजेदेखि मतगणना, मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुला

राष्ट्रपति निर्वाचन : ४ बजेदेखि मतगणना, मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुला

काठमाडौं : रामचन्द्र पौडेल वा सुवास चन्द्र नेम्वाङ मध्ये एकलाई देशको तेस्रो राष्ट्रपति छान्नका लागि भएको निर्वाचनको मतदान सकिएको छ।

अब ४ बजेपछि मतगणना सुरु हुने र साँझ ७ बजेसम्ममा यस निर्वाचनको मत परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले मतगणना गर्ने विषयमा राष्ट्रपति उमेदवारका प्रतिनिधिहरूसँग बैठक गरेको थियो। निर्वाचन आयोगको मतगणना सम्बन्धी बैठकले मतगणनाका लागि विभिन्न सात निर्णय गरेको छ।

जसअनुसार दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने र मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुला गर्ने निर्णय भएको छ।

स्वस्तिक छाप नभएको मत बदर हुने र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा भएमा त्यो पनि बदर हुने उल्लेख छ।

त्यसैगरि ​​​​​​​संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने जनाइएको छ भने मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहने छन्।​​​​​​​

मतगणना पश्चात् विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने पनि बताइएको छ।

फागुन २५, २०७९ बिहीबार १५:२३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।